खाने तेलको गुणस्तरमा कडाइ, भ्रामक विज्ञापन र पुराना कन्टेनर प्रयोगमा रोक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ४

काठमाडौं । सरकारले नेपाली बजारमा बिक्री हुने खाने तेलको गुणस्तर, शुद्धता र उपभोक्ता स्वास्थ्य सुनिश्चित गर्न उत्पादन, प्याकेजिङ तथा बिक्री वितरणमा कडाइ गर्ने तयारी गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको हो । मस्यौदाले सिधै खान मिल्ने र नमिल्ने तेललाई स्पष्ट रूपमा वर्गीकरण गरेको छ ।

तोरीको तेलमा एक्स्प्रेस प्रक्रियाबाट निकालिएका रिफाइन्ड, भर्जिन तथा एक्स्पेलर तेल र सल्भेन्ट प्रक्रियाबाट निकालिएको रिफाइन्ड तेललाई मात्र सिधै खान योग्य मानिएको छ । सल्भेन्टबाट निकालिएको ग्रेड–१ तेल थप प्रशोधनपछि मात्र प्रयोग गर्नुपर्नेछ र यस्तो तेल खुद्रा प्याकेटमा बिक्री गर्न पाइने छैन ।

भटमास तेलमा रिफाइन्ड तेललाई मात्र सिधै खान योग्य मानिएको छ । डिगम्ड र ग्रेड–१ तेललाई कच्चापदार्थका रूपमा मात्र प्रयोग गर्नुपर्ने र खुद्रा प्याकेटमा बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ ।

सूर्यमुखी तेलमा पनि रिफाइन्ड तेल तथा एक्स्प्रेस प्रक्रियाबाट उत्पादित ग्रेड–१ तेललाई खान योग्य मानिएको छ । सल्भेन्ट एक्स्ट्र्याक्टेड ग्रेड–१ तेल भने सिधै खान नमिल्ने व्यवस्था गरिएको छ ।

नयाँ मापदण्डले ‘सुपर–रिफाइन्ड’, ‘एक्स्ट्रा–रिफाइन्ड’, ‘एन्टी–कोलेस्टेरोल’, ‘कोलेस्टेरोल फाइटर’ लगायत उपभोक्तालाई भ्रमित पार्ने वा अतिरञ्जित दाबी गर्ने शब्दावली प्याकेट तथा विज्ञापनमा प्रयोग गर्न रोक लगाएको छ ।

यस्तै, खाने तेल प्याक गर्न नेपाल गुणस्तर प्रमाणित टिन वा प्लास्टिकका कन्टेनर मात्र प्रयोग गर्नुपर्नेछ । एकपटक प्रयोग भइसकेका कन्टेनर पुनः प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

तेलका कन्टेनरमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन मिति तथा खुद तौल स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । सिधै खान नमिल्ने तेलको कन्टेनरमा ‘सोझै खानका लागि होइन’ भन्ने चेतावनीसमेत अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *