सई लक्ष्मण यादव हत्या प्रकरणमा २२ महिनापछि मुख्य अभियुक्त पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ४

सिरहा । तस्करी रोक्ने क्रममा मारिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको हत्या भएको २२ महिनापछि प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।

भारत बिहारका ३७ वर्षीय मोहम्मद कुरवान मंसुरीलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार सई यादवको हत्यामा प्रयोग भएको सफारी जिपका धनीसमेत मंसुरी नै हुन् ।

२०८१ मंसिर १६ गते बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित सीमा क्षेत्रमा मदिरा तस्करी भइरहेको सूचनापछि सई यादवको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । सो क्रममा डीएल ५ सीजे ७१७१ नम्बरको सफारी जिप रोक्न खोज्दा चालकले सई यादवलाई ठक्कर दिएर फरार भएको प्रहरीको भनाइ छ ।

गम्भीर घाइते यादवको उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि फरार अभियुक्तको खोजी भइरहेको थियो ।

मंसुरीसहित तीन जनालाई पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरीमाथि एक राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले तीन राउन्ड गोली चलाउँदा मंसुरीको हात र खुट्टामा चोट लागेको थियो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ ।

मुख्य अभियुक्त पक्राउपछि मृतकका परिवारले न्यायको आशा पलाएको बताएका छन् । प्रहरीले घटनामा संलग्न अर्का एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको जनाएको छ ।

प्रहरीले फरार अभियुक्तलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *