काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई समयमै निर्वाचनतर्फ लैजान प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गरेकी छन्। शनिबार बालुवाटारमा आयोजित छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए।
निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूबाट स्पष्ट प्रतिबद्धता सुनिश्चित गर्ने उद्देश्यले छलफल आयोजना गरिएको प्रधानमन्त्री कार्कीले बताइन्। उनले आफू न्यायिक क्षेत्रबाट आएको व्यक्ति भए पनि राष्ट्रपतिको निर्देशनअनुसार निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारीमा रहेको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले चुनाव सफल बनाउन सरकार गम्भीर रूपमा तयारीमा जुटेको जानकारी दिँदै सुरक्षा निकाय र निर्वाचन आयोगलाई आवश्यक स्रोत–साधन उपलब्ध गराइएको बताइन्। रक्षाबाहेकका मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीलाई सुम्पिनु पनि चुनाव केन्द्रित निर्णय भएको उनको भनाइ थियो।
छलफलपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले तीनै दलका नेताहरू निर्वाचनप्रति सकारात्मक देखिएको जानकारी दिए। उनका अनुसार बैठकबाट सरकार र दलहरूबीच चुनावलाई नै प्राथमिकतामा राख्ने साझा समझदारी बनेको छ।
माओवादी केन्द्रका संयोजक प्रचण्डले तोकिएको मितिमा नै चुनाव हुनुपर्नेमा जोड दिएका थिए। उनले विशेष परिस्थितिमा बनेको सरकारले निष्पक्ष ढंगले काम गरिरहेको भन्दै प्रशंसा समेत गरेका थिए।
कांग्रेस सभापति देउवाले पार्टीको मुख्य प्राथमिकता संसद पुनर्स्थापना नभई निर्वाचन नै भएको स्पष्ट पारे। उनले सबै दल चुनावका लागि तयार हुनुपर्ने धारणा राखेका थिए।
यस्तै एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी चुनावका लागि तयार रहेको तर त्यसका लागि आवश्यक वातावरण सरकारले सुनिश्चित गर्नुपर्ने बताएका थिए।
छलफलको निष्कर्षमा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गरिन्। यससँगै देशलाई निर्वाचन प्रक्रियातर्फ अघि बढाउने विषयमा सरकार र प्रमुख दलहरूबीच न्यूनतम सहमति बनेको सरकारको दाबी छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्