सातै प्रदेशमा सुरु हुँदै नेकपाको ‘एकता सन्देश अभियान’, पहिलो कार्यक्रम धनगढीबाट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १२

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीले देशव्यापी ‘एकता सन्देश सभा’ शुक्रवारदेखि आरम्भ गर्ने भएको छ। कात्तिक १९ गते दस वटा कम्युनिस्ट समूहहरू एकीकृत भई नयाँ रूपमै अघि बढेको नेकपाले पार्टीभित्रको एकतालाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यका साथ सातै प्रदेशमा सभा आयोजना गर्न लागेको हो।

अभियानको पहिलो कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबार हुनेछ। उक्त सभाको तयारीको जिम्मेवारी पार्टीको सुदूरपश्चिम प्रदेश समितिलाई दिइएको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालसहित केन्द्रीय तथा प्रदेशस्तरका शीर्ष नेतृत्वले विभिन्न प्रदेशका सभाहरूमा सम्बोधन गर्नेछन्।

कार्यक्रमअनुसार लुम्बिनी प्रदेशमा मंसिर १३ गते देउखुरी, गण्डकीमा मंसिर १४ गते पोखरा, र कोशीमा मंसिर १५ गते विराटनगरमा सभा हुनेछ। त्यसपछि कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेसको जनकपुरमा मंसिर २० गते र बागमती प्रदेशको हेटौँडामा मंसिर २३ गते सभा गर्ने योजना छ।

यसबाहेक, मंसिर २९ गते देशभरका स्थानीय तहमा एकैसाथ ‘एकता सन्देश सभा’ आयोजना हुनेछ।

कात्तिक १९ पछि मात्र विभिन्न ६ दल र तिनका विद्रोही समूहहरू नेकपामा समाहित भएका छन्। भीम रावल, राजेन्द्र श्रेष्ठलगायतका नेता पनि पार्टीमा प्रवेश गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *