×

रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न रास्वपाको माग

कार्तिक २१, २०८१ | दाक्सु मिडिया

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न पार्टीले माग गरेको छ ।

हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेको रास्वपाले जनाएको छ । ‘संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्तिमार्फत् बताएका छन् ।

सभापति लामिछानेको पक्राउविरुद्ध र सहकारीपीडितलाई न्यायको मागसहित कास्कीको पोखरामा मंगलबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग रास्वपाले आरोप लगाएको छ । ‘रत्न चोक हुँदै वाइचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरियो,’ झाले बताएका छन्, ‘आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार राजकुमार माझी लगायतलाई प्रहरीद्वारा गरिएको हातपात र सञ्चार सामग्री तोडफोड समेत गरिएको कार्यको घोर विरोध गर्दछौं ।’

बुधबार पोखराको मानवअधिकार चोकलगायत देशका विभिन्न जिल्लामा विरोध कार्यक्रम यथावत रहेको रास्वपाले बताएको छ । सहकारी ठगी, संगठित अपराधको अभियोगमा रास्वपा सभापति लामिछाने कास्की प्रहरी हिरासतमा छन्। उनलाई कात्तिक २ गते पक्राउ गरिएको हो । मंगलबार समेत तीन पटक अदालतबाट म्याद थप गरी प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

कार्यवाहक प्रवक्ता झाले संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारेको दाबी गर्दै सरकारले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको उल्लेख गरेका छन् । यसैबीच उनले आज अपराह्न ४ बजे पोखरालगायत देशका विभिन्न जिल्लामा रास्वपाको विरोध कार्यक्रम जारी रहने जानकारी पनि दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: