काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कमा उपस्थित गराईएको छ । उनीसहित छविलाल जोशी, जीवी राईसँग जोडिएका लीला पछाइ र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराएको हो ।
लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको हो। सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिएको हो। कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो । थपिएको म्याद कात्तिक १४ गते बुधवार सकियो । तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बितेको छ ।
पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरेको हो।
सीआईबीको अनुसन्धान टोलीलाई साथमै लिएर लामिछानेका आफन्तका कारोबार तथा विदेश रकम पठाएको तथ्यसमेत खोजी गर्ने काम भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएकोमा साढे पाँच करोड गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ ।
आफ्नो बयानमा लामिछानेले सहकारी ठगीमा संलग्नता अस्वीकार गर्दै आएका छन् । गोरखा मिडियामा रकम व्यस्थापन र परिचालन आफूले गर्ने नगरेको उल्लेख गर्दै उनले सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, सेयर सदस्य कतै नभएकाले ऋण लिने कुरै नहुने उनले बयान दिएका छन् । कतिपयले बयान सकिएको भनेर बताईरहेको बेलामा अनुसन्धानमा संलग्न अधिकारीले भने अझै बयान नसकिएको दाबी गरेका छन् । लामिछानेलाई बयानको लागि रुपन्देही लग्ने प्रहरीको तयारी छ ।
लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।
यसै गरी, रुपन्देहीमा पनि लामिछानेविरुद्ध पूरक जाहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई त्यहाँ पनि लगिने छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीमा अदालती प्रक्रिया सकिएपछि त्यता लगिने छ ।
रविसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी पनि असोज ६ देखिकास्की प्रहरीकै हिरासतमा छन्। जोशी लाई पनि आजै म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
छविले भने रवि र जीबीकै योजनामा गोर्खा मिडिया ग्रुपमा पैसा आएको बयान दिएका छन्। उनले नेपालबाट केही रकम विदेश पठाएको हुन सक्ने आशंकामा त्यसतर्फ पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ। उनले गत चैतमा मलेसिया गएर जीबीलाई भेटेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनको कारोबार पनि अस्वभाविक देखिएको र केही रकम क्रिप्टोमार्फत विदेश पठाएको आशंकामा पनि अनुसन्धान जारी छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया