काठमाडौँ : नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा नेपाल शान्तिपूर्ण बाटो मार्फत समाजवादतर्फ अघि बढिरहेको बताएका छन्। सचिव भट्टराईले आफूहरुले शान्तिपूर्ण प्रक्रिया मार्फत नेपाली जनताको बलियो समर्थन सहित समाजवाद हासिल गर्न चाहेको तर नेपाल त्यसै तर्फ अघि बढेको बताएका हुन्।
‘सोसियल साइन्स एकेडेमी’ अर्थात् चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा आयोजित १४ औं विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले जबज नेपाली भूमिमा माक्र्सवादको सृजनात्मक प्रयोग रहेको र त्यसकैको आलोकमा समाजवाद हासिल गर्न चाहेको बताए।
‘नेपालमा हामी समाजवादी उन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौं, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ। हाम्रो पार्टी नेकपा (एमाले) ले स्वार्गिय कमरेड मदन भण्डारीको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त विकास गरेको छ,’ सचिव भट्टराईले सम्बोधनमा भने, ‘हामी जबजको मार्गदर्शनमा हामी नेपाली तरिकामा शान्तिपूर्ण माध्यमबाट समाजवादतर्फ अघि बढिरहेका छौं। जबज नेपाली अभ्यास र नेपाली भूमिमा माक्र्सवादको रचनात्मक प्रयोगमा आधारित छ। हामी शान्तिपूर्ण प्रक्रियामा जनताको बलियो समर्थनसहित समाजवाद हासिल गर्न चाहन्छौं। यो नयाँ युगको नेपाली मोडेल र विशेषताहरूको क्रान्ति हो।’
बेइजिङमा जारी १४ औं विश्व समाजवाद फोरममा विश्वका ३० देशका कम्युनिष्ट नेता, माक्र्सवादी बुद्धिजीवि, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता गरी ५० विदेशी अथिथि र चिनियाँ नेता, प्राध्यापक, बुद्धिजीवि सहित १ सय ५० बढी सहभागी छन्।
फोरमलाई सम्बोधन गर्दै नेपालको मुख्य ध्येय नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता रक्षा गर्दै राष्ट्रिय गरिमालाई उन्नत गर्नु र आर्थिक समृद्धि तथा समृद्धि प्रवद्र्धन गर्नु रहेको बताए। यी उद्देश्यहरू हासिल गर्न, हामी एकअर्काको समानताप्रतिको सम्मान, पारस्परिक फाइदाका लागि सहयोग, गुटनिरपेक्षता, संयुक्त राष्ट्रसंघको चार्टर र विश्व शान्तिको मुल्यहरु नेपालले दृढतापूर्वक पालना गर्ने बताए।
उनले भने, ‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षालाई पूरा गर्ने हाम्रो महान् चाहनाका साथ हामी सबैका मित्रहरूको समर्थन, सहयोग र ऐक्यबद्धताको अपेक्षा राख्छौं।’
फेसबुकबाट तपाईको प्रतिक्रिया