प्रधानमन्त्रीको जादुमय अंकले हामीलाई नै विश्वास गर्न छोडेपछि कांग्रेससँग मिल्यौँ : योगेश भट्टराई

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २३

काठमाडौँ : नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेस र एमालेले सरकार बनाउन गरेको सहमतिलाई सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा दिन आग्रह गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले राम्रो मनसाय राखेर प्रचण्डलाई समर्थन गरे पनि उल्टै अविश्वासको वातावरण सिर्जना भएको बताए ।

उनले भने– ‘हामी राम्रो मनासयले पुष्पकमल दाहालको सरकार जाओस् भनेर नेकपा एमाले अलिकति लो प्रोफाइलमा बसेर, अलिकति तल बसेर, यो देशमा शासकीय स्थायित्व हुन्छ भने हामी अगाडि बढौँ, पुष्पकमल दाहालजीलाई यो अवसर दिऔँ भनेर नै हामीले ती तमाम निर्णय गरेका थियौँ । तर दिनहरू बित्दै जाँदा प्रधानमन्त्रीले जादुमय अंक भनिरहनुभएको थियो, त्यो जादुमय अङ्कले नेकपा एमालेप्रति नै अविश्वास गर्न थाल्नुभयो ।’

उनले गत असार १८ गते प्रचण्डले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको तर त्यो असफल भएको बताए । प्रचण्ड घोर अल्पमतमा परेको बताउँदै राजीनामा दिन आग्रह गरे ।

उनले अगाडि भने– ‘हामीले गाँइगुँई सुन्यौ, नेपाली कांग्रेस, शेरबहादुर देउवालाई बोलाएर राष्ट्रिय सरकार बनाऔँ भन्ने प्रस्ताव गर्नुभएछ । राष्ट्रिय सरकार त्यति नाजायज पनि होइन । तर आजको यो तमाम समस्याको हल गर्नका निम्ति राष्ट्रिय सरकारको नेतृत्व गर्दा ठिक हुन्छ ? कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार भन्दा एमालेलाई सरकारबाट बाहिर राख्ने मनासय पनि राख्नुभयो । त्यसमा पनि हामीलाई आपत्ति थिएन । हामी तयार नै छौँ तर हामीले बिचार गर्‍यौँ, उहाँ फेरि कांग्रेसमा जाने र फेरि एमालेमा आउने रोटेपिङले देश कहिँ पनि जाँदैन भन्ने बिचार गर्‍यौँ, उहाँको कुर्सीको आयु केही समय लम्बिए देश जहाँको त्यहीँ रहन्छ भन्ने बुझेर यो स्थितिमा कांग्रेस सभापति देउवा र हाम्रा अध्यक्षबिच कुराकानी भएर सरकार बनाउने गम्भीर निर्णय भएको छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *