काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्ड हुने भएको छ । प्रधानमन्त्री ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन भदौ तेस्रो साता थाइल्यान्डको बैंकक जाने भएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्यालयबाट प्राप्त निर्देशनबमोजिम भ्रमणको गृहकार्य भइरहेको छ । यही सेप्टेम्बर ३ र ४(भदौ १८ र १९) मा बैंककमा बिमस्टेकको छैटौं शिखर सम्मेलन आयोजना हुँदैछ । सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो ।बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेका छन् ।
पाँचौँ शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा आयोजना भएको थियो भने सन् २०१८ मा नेपालले चौथो शिखर सम्मेलन आयोजना गरेको थियो । बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पका रूपमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रूपमा लिइन्छ । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया