×

प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि थाइल्यान्ड प्रस्थान

चैत्र १८, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन आज बैंकक प्रस्थान गरेका छन् ।

थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले विदाई गरेका थिए ।

प्रधानमन्त्री ओली र उनका थाई समकक्षीबीच नेपाल–थाइल्यान्ड सम्बन्धका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी ्हुनेछन् । त्यही दिन उनले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । शिखर सम्मेलनका क्रममा सदस्य देशका समकक्षी एवम् राष्ट्रप्रमुखहरूसँग भेटवार्ता हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: