काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै ४२ जिल्ला र सातै प्रदेशको अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय गरेको छ ।
आइतबार र सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयअनुसार निर्वाचन समितिले मंगलबार नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । समय अभाव र भोटेकोशी बाढीका कारण उत्पन्न विपद्का कारण अधिवेशन प्रभावित भएपछि कार्यतालिका संशोधन गरिएको कांग्रेसले जनाएको छ ।
नयाँ कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ गते, गाउँ/नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते हुनेछ । केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा नै हुनेछ ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लाको जिल्ला अधिवेशन महाधिवेशनअघि नै सम्पन्न हुनेछ । तर, दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका ४२ जिल्ला तथा सातै प्रदेशको अधिवेशन महाधिवेशनपछि उपयुक्त समयमा गरिनेछ ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार जिल्ला र प्रदेश अधिवेशनको मिति दोस्रो चरणमा सार्वजनिक गरिनेछ । छोटो समयभित्र सबै तहका अधिवेशन सम्पन्न गर्न कठिन भएपछि महाधिवेशन प्रतिनिधि छनोट हुने तहसम्मको निर्वाचनलाई प्राथमिकता दिइएको हो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्