×

राष्ट्रपतिमा हामीलाई समर्थन गरे प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री दिन्छौं: कांग्रेस प्रवक्ता महत

फाल्गुन ५, २०७९ | दाक्सु मिडिया

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा स्वीकार्ने बताएका छन्।

महतले राष्ट्रपतिमा माओवादीले आफ्ना उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका हुन्।  अहिलेको परिवेशमा कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने उनले बताए।  संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको उनले बताए।

राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भए पनि राष्ट्रिय सहमतिका लागि सत्तारूढ दल एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरू एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न महतले आग्रह गरे।

‘राष्ट्रपति कांग्रेसको हुने वा नहुने भन्ने कुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने कुरा प्रमुख रहेको हो,’ महतले भने।

एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्ने कुरालाई ध्यान दिन जरूरी रहेको उनले उल्लेख गरे।

प्रवक्ता महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि नदोहोरिन गरी राष्ट्रपति बनाउनु पर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: