नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ दलीय गठबन्धन ५ वर्ष टिक्ने बताएका छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई अभिमुखीकरण दिन काठमाडौंको तीनकुनेमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन दीर्घकालीन हुने पनि बताए।
‘हेर्दै जानुहोला यो गठबन्धन ५ वर्ष टिक्छ,’ उनले भने, ‘मन्त्रिपरिषद विस्तार प्रक्रिया आजैदेखि सुरू गर्छु।’ उनले गत पुस १० मा बनेको गठबन्धन यसबीचमा कताकता रूमलिएको पनि बताए।
प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको जिम्मेवारी लिइरहेका छन्।
सरकारबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा बाहिरिएका थिए। राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न ७ दल सहमत भए पनि यी दल सबै सरकारमा भने सहभागी भइसकेका छैनन्।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन र उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै विश्वासको मत लिने पनि बताए। यही फागुन २५ गते राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया