काठमाडौं, श्रावण १८ — पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित स्वात उपत्यकामा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
स्वात जिल्लाको कबाल सहरमा आइतबार साँझ भएको विस्फोट प्रहरी चौकीको प्रवेशद्वारनजिक भएको हो। प्रहरीका अनुसार सुरक्षाकर्मीले शंकास्पद व्यक्तिलाई जाँच गर्ने क्रममा उनले आफैंलाई विस्फोट गराएका थिए।
घटनाका बेला हिंसात्मक गतिविधिविरुद्ध प्रदर्शन गर्न भेला भएका मानिसहरूको भीड नजिकै रहेको थियो। विस्फोटपछि त्यहाँ भागदौड मच्चिएको थियो।
प्रहरी अधिकारीहरूका अनुसार घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन। स्वात क्षेत्रमा विगतमा सक्रिय रहेको तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) सँग जोडिएका हिंसात्मक गतिविधि पछिल्लो समय पुनः बढ्न थालेपछि स्थानीयले विरोध प्रदर्शन गर्दै आएका थिए।
घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शेहबाज सरिफले दुःख व्यक्त गर्दै आक्रमणको निन्दा गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्