पाकिस्तानमा मनसुनी वर्षासँगै विपद्: ११ जनाको मृत्यु, २७ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १८

काठमाडौँ : पाकिस्तानमा भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाका कारण विभिन्न क्षेत्रमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वा प्रान्तमा एक महिला र तीन बालबालिकासहित ६ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। वर्षाका कारण दुई घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३८ घरमा आंशिक क्षति पुगेको छ।

त्यसैगरी पञ्जाब प्रान्तको अटक जिल्लामा पर्खाल ढल्दा दुई बालबालिकाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। बलुचिस्तानमा पनि एक महिला र बालबालिकासहित ३ जनाको मृत्यु भएको र थप ५ जना घाइते भएको जनाइएको छ।

अधिकारीहरूले आगामी दिनमा अझै भारी वर्षाको सम्भावना रहेको चेतावनी दिँदै पहिरो, आकस्मिक बाढी र अन्य सम्भावित जोखिमबाट सतर्क रहन स्थानीय बासिन्दालाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *