काठमाण्डौँ । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सरकारविरूद्ध प्रदर्शन घोषणा गरेको पूर्वसन्ध्यामा नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफ्नो टिप्पणी सार्वजनिक गरेकी छन् ।
उनले आफ्नो टिप्पणीमा सुदन गुरूङले केही दिनअघि एक टेलिभिजन च्यानलमा दिएको अन्तर्वार्ताको पनि जबाफ दिएकी छन् ।
रक्षाले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, एकजना जेनजी मित्र, जो सेप्टेम्बर ८ को दिन आन्दोलनमै आएका थिएनन्, आज अन्तरिम सरकारलाई कामचोर घोषणा गरेर संसद पुनर्स्थापना र सर्वपक्षीय सरकार भनिरहेका छन्।
उनी अगाडि लेख्छिन्, अर्का एक जेनजीका दाइ छन्, उनले पनि केही दिन अगाडि कान्तिपुर टिभीको फायरसाइडमा संसद पुनर्स्थापना र सर्वपक्षीय सरकारकै कुरा विकल्पका रूपमा अगाडि सारेका थिए। अनि फेरि आफै हामी तिमीहरूलाई आउन दिन्छौं र ? हामीले हातमा चुरा लगाएका छैनौं पनि भन्दै थिए ।
‘जेनजी मित्र र जेनजीका दाइ दुवैलाई भन्न चाहन्छु, तपाईंहरू दुवैले जुन संसद पुनर्स्थापनाको कुरा गरिरहनुभएको छ, हाम्रो देशको राजनीतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ। अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसदमार्फत मुलुकलाई निकास दिँदै, हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ।’
रक्षाले यतिखेर देशलाई राजनीतिक प्रक्रियाको आवश्यकता रहेको र कसैको पनि स्वार्थपूर्तिका खातिर राजनीतिकररणनीतिक गोटी बन्न नहुने उल्लेख गरेकी छन् ।
हामी थप सचेत हुन जरूरी छ। देशमा शान्ति जरूरी छ, उनले भनेकी छन् ।
‘जेनजीका दाइ , मेरा यी चुरा लगाएका दुवै हात यस्ता सम्पूर्ण गलत कुकृत्यका विरूद्ध आफ्नो मुठ्ठी उठाइरहेकै छन् । चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला। स्त्रीद्वेषी टिप्पणी दिन छाड्नुस र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन् । भदौ २८, २०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईंले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो,’ रक्षाले लेखेकी छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्