सामाजिक सञ्जाल बन्दमा संगीतकर्मी र साना व्यवसायीको रोजीरोटीबारे सोचेको खोइ ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २०

काठमाडौँ । भनिरहनै परेन, बिहीबारदेखि निरन्तर हामीकहाँ एउटै कुराको चर्चा छ- सामाजिक सञ्जाल । एक साताअघि नेपाल सरकारले विश्वव्यापी सामाजिक सञ्जाल फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्सलगायतलाई सूचीकरणमा नआए बन्द गर्ने चेतावनी दिएको थियो ।
बुधबार एक साता पुगेको थियो, अनि मानिसहरू के होला भनेर बिहीबार बिहानैदेखि उत्सुक र चिन्तित थिए । यो दिन एक साताअघिदेखि चलेको चर्चाको उत्कर्षको दिन थियो । धेरैले सोचेका थिए, सरकारले चेतावनी दिए पनि सहजीकरण गर्ला, सूचीकरण हुनका लागि ती सामाजिक सञ्जालहरू आउलान् । तर भइदियो उल्टो-सरकारले सूचीकरण नभएका २६ सामाजिक सञ्जाललाई बन्द गराएरै छाड्ने निर्णय गर्‍यो र सोही अनुसार इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दियो ।


यो आलेख तयार गर्दासम्म त फेसबुक र युट्युब कतिपय ठाउँमा चलिरहेकै छन्, पूर्णरुपमा बन्द गर्ने प्रक्रिया चलिरहेको होला । कतिपय सामाजिक सञ्जालका प्रतिनिधिले सूचीकरणका लागि सम्पर्कमा आएको खबर पनि दिएका छन् ।


तर आउँदै आएनन् भने के होला रु यो प्रश्न पेचिलो छ । सहज र सटिक उत्तर नै छैन यसको ।सामाजिक सञ्जाल अहिले यस्तो बनेको छ, यसविनाको जीवन कल्पना भन्दा बाहिर पुगिसकेको छ । सामाजिक सञ्जाल भन्दा बाहिरको जीवन परिकल्पना गर भनेर अहिलेका मानिसलाई भन्नु भनेको बुलेट ट्रेन छाडेर गोरुगाडामा हिँड भन्नुजस्तै हो ।


व्यक्तिगत सम्पर्कको माध्यम मात्रै होइन, व्यापार गर्ने थलो, व्यापार प्रवर्द्धन प्लेटफर्म, कलाकारिताको थलो सबै नै अहिले सामाजिक सञ्जालका प्लेटफर्म हुन् । फेसबुक विचार आदानप्रदानको थलोका साथै व्यापार प्रवर्द्धनको माध्यम पनि बनेको छ भने युट्युब त अझ चौतर्फी छ । युट्युबमा कन्टेन्ट बनाएर नै विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि हजारौँले घर चलाइरहेका छन् । यसलाई पार्टटाइमदेखि फुलटाइम करिअर बनाउनेहरू कति हो कति छन् । अब सरकारको यो निर्णयपछि उनीहरूको पेटमा लात हानेजस्तै भएको छ ।

सरकारको नियम नीति नियम नमानेर अटेर गर्नु राम्रो कुरा हुँदै होइन । ती सामाजिक सञ्जाल प्लेटफर्महरुले लापरबाही गरेकै हुन् । तर सरकार त जनताको अभिभावक हो, उसले एक पटक आफ्ना नागरिकको रोजीरोटीलाई पनि त हेर्नुपर्थ्यो भन्ने सवाल हो ।

इन्टरनेट सेवा प्रदायकहरूले क्रमशः सामाजिक सञ्जाल बन्द गर्न थाल्दै गर्दा बिहीबार साँझ गायक तथा संगीतकार सिडी विजय अधिकारीले उही बन्द हुन लागेको फेसबुकमा एउटा पोस्ट गरे २५ वटा जति म्युजिक भिडियो छ, कता रिलिज गर्ने होला अब ।’

हो नि अब संगीतमा लागेका कलाकार र सर्जकले आफ्ना गीति सिर्जना कहाँ लगेर रिलिज गर्ने रु बन्द गरेको सरकारले विकल्प दिन सक्ला रु

आज युट्युब नै संगीतकर्मीहरुको सबैभन्दा पहिलो र मुख्य आम्दानीको स्रोत बनेको छ । गीत-संगीतलाई निर्वाध आफ्ना श्रोता-दर्शकमाझ पुर्‍याउने निर्विकल्प जस्तै माध्यम बनेको छ । युट्युब नै बन्द भएपछि संगीत क्षेत्रमा लाग्न चाहनेहरुका लागि कुन उत्प्रेरणाले काम गर्ला रु कि पहिलेकै टेलिभिजन सिन्डिकेटको समय फर्काउने हो रु गीत बजाउन पनि टिभी कार्यक्रमका प्रोड्युसर र टेक्निसियनहरुलाई खुसी पार्नुपर्ने ?

युट्युबजस्ता सामाजिक सञ्जाल र भिडियो सेयरिङ प्लेटफर्महरुले यस्तो सिण्डिकेट तोडेका थिए । कला र गला भएको जोकोहीले आफ्नो सिर्जना विश्वव्यापी रूपमा पुर्‍याउन पहुँच पाएको छ आजको दिनमा । सामाजिक सञ्जाल बन्द हुँदा कला क्षेत्रमा लाग्दै गरेकाहरूको घाँटी निमोठिने छ भने स्थापित संगीतकर्मीका सिर्जना खुम्चिन बाध्य हुनेछन् ।

ठ्याक्कै तथ्याङ्क नभए पनि ट्रेन्ड हेर्दा नेपालमा व्यावसायिक गीत मात्रै दैनिक दुई दर्जन हाराहारीमा युट्युबमा रिलिज हुन्छन् । अब ती गीत कहाँ आउलान् भन्ने प्रश्न उठेको छ । यससँगै फिल्मका ट्रेलर, गीत र प्रचारप्रसारमा पनि ठुलै प्रभाव पर्नेछ ।

सामाजिक सञ्जालले प्रत्यक्ष प्रभाव पार्ने अर्को क्षेत्र हो- व्यापार-व्यवसाय । नेपालमा फेसबुक, इन्स्टाग्राम र युट्युब मार्फत व्यवसाय बढेको कुरालाई त नकार्न नसकिएला नि । फेसबुकमा पेज बनाएर आफ्नो सामानको बिक्री वितरण गर्नेहरू बढे, सामाजिक सञ्जालमै केन्द्रित गरेर विज्ञापन बनाउनेहरू बढे । अझ प्रस्ट भन्नुपर्दा यही सामाजिक सञ्जालले व्यापार व्यवसाय कुनै घरको सटरमा सीमित नरहने अवस्था बन्यो । यस्तो पृष्ठभूमिमा ‘आईटीमा भविष्य उज्ज्वल छ, महिनामै तीन-चार लाख रुपैयाँ कमाइ हुन्छ’ भन्ने सपनामा यसले कुठाराघात गर्दैन रु सामाजिक सञ्जाल नै बन्द भएपछि उत्पादित आईटी जनशक्तिले काम गर्ने क्षेत्र खुम्चिनेछ ।

सामाजिक सञ्जाल बन्द गराउन निर्देशन दिएको भोलिपल्ट (शुक्रबार) सत्ताको नेतृत्वकर्ता दल एमालेको विधान महाधिवेशन सुरु भयो । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै चीन भ्रमण, लिपुलेकका कुरादेखि सामाजिक सञ्जाल बन्दसम्मका कुरा गरे ।

ती कुरा जनतालाई सुनाउन उनकै सचिवालयको फेसबुक पेजबाट लाइभ गरियो । आखिर प्रधानमन्त्रीलाई पनि त आफैँले बन्द गर्न लगाएको सामाजिक सञ्जाल चाहिएछ त ?

एकातिर बन्द गर्न निर्देशन दिने, अर्कोतिर आफैँ अवज्ञा गर्ने कस्तो विरोधाभास रु यो कुरालाई लिएर पनि हालसम्म पूर्ण रूपमा बन्द भइनसकेको सामाजिक सञ्जालमै आलोचना भइरहेको छ । बन्द गराउनेले नै नगरेपछि यो कदम चलाउनेलाई मात्रै हो भन्ने प्रश्न छ । चलाउने भन्नाले सर्वसाधारण सामाजिक सञ्जाल प्रयोगकर्ता । उनीहरूलाई मात्रै हो प्रतिबन्ध रु

सामाजिक सञ्जालमा विकृति नभएका होइनन्, यथेष्ट छन् । गाली र चरित्र हत्याको त डरलाग्दै रूप देखिएको छ । यद्यपि अहिले आम नागरिकको अभिन्न अंग भइसकेकाले सबैभन्दा बढी चासो बन्द भएका सामाजिक सञ्जाल सरकारले कतिबेला खोल्ला भन्नेमै छ । उनीहरू यस्तै समाचारमा चनाखो भइरहेका छन् ।

बगिरहेको नदीमा अवरोध आए अर्कै बाटो बनाउँछ भने झैँ अभ्यस्त भइसकेका नागरिकले सामाजिक सञ्जाल चलाउने अर्कै बाटो रोजे भने त्यसबाट हुने क्षतिको जिम्मेवार को होला रु निस्शुल्क भीपीएनजस्ता कुराको चर्चा भइरहेको छ । त्यसबाट व्यक्तिगत डाटा र गोपनीयताको ‘लिक’ भए व्यक्ति, समाज र देशमा कस्तो असर पार्ला ?

भीपीएन प्रयोग गर्दा इन्टरनेट सेवा प्रदायकहरूमा लोडको भार कति पर्ला भन्ने हिसाबकिताब भएको छ कि छैन ?

त्यसैले कुनै पनि देशको कानुन मान्दिन भन्न कसैले पाउँदैन । सरकारले त सूचीकरण भइदेऊ भनेको न हो । यति कुरा स्विकारेर प्रक्रियामा आउनु सामाजिक सञ्जाल कम्पनीहरूको पनि कर्तव्य हो । अझ ठुलो कर्तव्य दुवैको हुन्छ-यसैमा आश्रित आम मान्छेको रोजीरोटीको ग्यारेन्टी गर्नु । सरकारको काम ‘एक्सन’ लिन मात्रै होइन, सहजीकरण पनि हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *