
म्यान्मारमा सत्ता कब्जा गरेको सेनाले बिहीबारदेखि फेसबुकलगायत मेसेज आदान प्रदान गर्ने अन्य सामाजिक सञ्जाल बन्द गरेको छ। सेनाले सत्ता हातमा लिएलगत्तै त्यहाँ आन्दोलन चर्किन थालेपछि सामाजिक सञ्जालमा समेत बन्देज लगाएको हो।
म्यान्मारको यंगुन र अन्य शहरहरुमा मानिसहरु भाँडा ठटाउदै र गाडीका हर्न बजाउदै आन्दोलन चर्काउन थालेको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ।
आन्दोलनकारीले विरोध प्रदर्शनका दृष्य फेसबुकमार्फत् व्यापकरुपमा सेयर गर्न थालेपछि सैन्य सरकारले दबाब महशुस गरेको रोयटर्सले जनाएको छ।
सरकारी कार्यालय र अस्पतालका कर्मचारीले समेत सरकारको अवज्ञा गर्ने अभियान थालेका दृष्य सेयर गरिएको छ। त्यहाँको सूचनना तथा सञ्चार मन्त्रालयले आइतबारसम्म फेसबुक बन्द गरिने जानकारी दिएको छ।
मन्त्रालयले फेसबुकमार्फत् फेक तस्बिर तथा समाचार सेयर गरिएको उसकाे दाबी छ। ५ करोड ३० लाख जनसंख्या रहेको म्यान्मारमा आधा जनसंख्याले फेसबुक प्रयोग गर्ने बताइन्छ।
तर केहीले भने सरकारले बन्द गरेपनि भीपीएनजस्ता सफ्टवेयर प्रयोग गरी फेसबुक पनि चलाइरहेको समाचारहरुमा उल्लेख छ। त्यहाँ सामाजिक सञ्जाल ट्विटर भने सोमबार बिहानसम्म चलिरहेको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया