
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राई सम्मानित हुनुभएको छ।
रैथाने कृषि उपज तथा बस्तुहरुको बजारीकरणका लागि काठमाडौंको दरबारमार्गस्थित ओरियण्टल क्याफेमा सञ्चालित रैथाने हाटबजार एक सय हप्ता पुगेको अवसरमा राईलाई सम्मान गरिएको हो ।
शनिबार आयोजित बिशेष अन्तरक्रियामा कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अध्यक्ष राईलाई सम्मान गर्नुभएको थियो । रैथाने कृषि उत्पादन, स्थानीय सीप र प्रविधिबाट निर्मित वस्तुहरुको संरक्षण प्रवर्द्धनका लागि सञ्चालित रैथाने कृषि हाटबजारमा कृषि उपजहरुको बजारीकरण कार्यमा सहजीकरण गर्न अमूल्य योगदान गरेको भन्दै अध्यक्ष राईलाई सम्मानित गरिएको आयोजक संस्था रैथाने एग्री प्रडक्टस् नेपालले जनाएको छ ।
गाउँपालिकामा उत्पादित कृषि उत्पादनको उपभोगमा वृद्धि गरी व्यावसायीकरण गर्न गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत रैथाने हाटबजारसम्म ल्याउन स्थापनादेखि नै उहाँले महत्वपूर्ण योगदान गर्नुभएको भन्दै आयोजकले अध्यक्ष राईको प्रशंसा गरेका थिए ।
देशको सर्वाङ्गीण विकासका लागि कृषि र कृषिको विकासका लागि स्थानीय तहको भूमिका अपरिहार्य रहेको भन्दै अध्यक्ष राईलाई प्रदान गरिएको सम्मानपत्रमा रैथाने कृषि उत्पादन र उपभोगमा वृद्धि गरी व्यावसायीकरण गर्ने उद्देश्यलाई पूरा गर्नका लागि थुलुङ दुधकोशीमा रैथाने कृषि उत्पादन, स्थानीय सीप र प्रविधिबाट निर्मित वस्तुहरुको संरक्षण प्रवर्द्धनका लागि भविष्यमा पनि अमूल्य योगदान हुने अपेक्षा गरिएको उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया