×

कांग्रेसको शीर्ष नेताको बैठक आज बस्दै

फाल्गुन १६, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । सत्तारुढ नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा संसदमा रोकिएका संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयकहरुलाई फास्ट ट्रयाकमा अघि बढाउनेबारे छलफल हुनेछ । साथै पार्टीका भ्रातृ संस्थाको महाधिवेशनबारे पनि बैठकमा छलफल हुनेछ ।

चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको कांग्रेसले थप सहजीकरणबारे आजको बैठकमा छलफल गर्नेछ।योबाहेक संसदमा अड्किएका ६ वटा अध्यादेशलाई कसरी पारित गराउने भन्ने विषय पनि छलफलको एजेण्डा राखिएको छ ।

राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि अध्यादेश एक महिनासम्म पनि अघि बढाउने आँट सरकारले गरेको छैन । सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी नेपालले असहयोग गर्ने भने पछि सरकार पछि हटेको हो ।

अध्यादेश पास गराउने उपायबारे छलफल गर्न आजै साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय संयन्त्रको बैठक बोलाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: