×

नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्न टानले नयाँ पदमार्ग खोजी गर्दै

असार ४, २०८१ | दाक्सु मिडिया

काठमाडौँ । स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी सुरु गरिएको छ ।

नयाँ गन्तव्यहरुको खोजी र अनुसन्धान गरी नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्नका लागि टानले पछिल्लो समय देशका विभिन्न स्थानीय तहको सहकार्यमा नयाँ पदमार्गको खोजी गरेको हो ।

टानका अध्यक्ष नीलहरि बाँस्तोलाले पर्वतीय पदयात्राको अत्यधिक सम्भावना रहेको नेपालका पदमार्ग सडक सञ्जालको विस्तारका कारण मासिँदै गएकाले टान नयाँ गन्तव्य तथा पदममार्गको खोजीमा जुटेको बताउनु भएको छ । झन्डै पाँच दशकदेखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले स्थानीय तहले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएको भन्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ पदमार्गको खोजी गरेको उहाँको भनाई छ ।

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि टानले ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ निर्माण गरी विकास गरिरहेको छ । यसबाहेक काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा तिमालबाट चौँरीदेउराली हुँदै सैलुङ जोड्ने पदयात्रा मार्गको विकास र प्रवद्र्धन गरिसकेको छ ।

टानले रामेछापको उमाकुण्ड गाउँपालिकादेखि सोलुखुम्बुको दूधकुण्ड नगरपालिका हुँदै पासाङ ल्हामु गाउँपालिकालाई जोडेर नयाँ पदमार्ग तयार गरिरहेको छ । सुरुको समयमा सगरमाथा उक्त पदमार्ग हुँदै जाने गरेकाले सो पदमार्गलाई टानले विशेष चासोका साथ अगाडि बढाएको हो ।

टानका अनुसार नेपाल भ्रमणमा आउने पर्यटकमध्ये झन्डै ३० प्रतिशत पर्यटक पदमार्गका लागि विभिन्न स्थानमा जाने गरेका छन् । टानले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको समन्वयमा नयाँ गन्तव्यको पर्यटन प्रवद्र्धनमा समेत काम गरिरहेको छ ।

टानले काठमाडौँ उपत्यका वरपरका शिवपुरी, तारेभिर, मूलखर्क चिसापानी, जरसिंहपौवा, ढाव, नगरकोट, साँगा, नमोबुद्ध, फुल्चोकी, गोदावरी, हात्तीवन, फर्पिङ, चित्लाङ, चन्द्रागिरि, रामकोट, नागार्जुन, टोखा, ककनीलगायतका स्थानलाई जोडेर ‘नेपाल मण्डला सर्किट ट्रेल’को विकास गर्ने लक्ष्य लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: