यी हुन् रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने उम्मेदवार

DaksuMedia दाक्सु मिडिया
|
२०७९ आश्विन १४

रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने उम्मेदवारका नाम सार्वजनिक गर्न थालेको छ।

काठमाडौं क्षेत्र नम्बर १ बाट पुकार बम उठ्दैछन्। उनी सत्याग्रही अभियन्ता पनि हुन्। यस्तै काठमाडौं क्षेत्र नम्बर १० बाट सामाजिक अभियन्ता प्रदीप विष्ट उम्मेदवार हुने उक्त पार्टीले जानकारी दिएको छ।

शिक्षा अभियन्ता तथा उद्यमी शिशिर खनाल काठमाडौं ६ मा उठ्दैछन्। टिचफर नेपालका सहसंस्थापक खनालले राष्ट्रिय स्वतन्त्र पार्टीकै चुनाव चिन्ह घन्टीमा चुनाव लड्ने तयारी गरेका छन्।
पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी गरेका छन्।

यस्तै डाक्टर तेसिमा कार्कीले ललितपुर ३, कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तय भएको स्वतन्त्र पार्टीले बताएको छ।

बागलुङ २ बाट सामाजिक अभियन्ता तिला खत्री, मुस्ताङबाट ग्रामीण क्षेत्र विकासका विद्यार्थी सुदेश गुरूङ र सिन्धुपाल्चोकबाट पर्वतारोही माया गुरूङ उम्मेदवार हुने टुंगो लागेको छ।
झापाबाट अहिलेसम्म तीन जनाले उम्मेदवारी दिने भएका छन्।

झापा ४ बाट पूर्वप्रहरी शम्भुप्रसाद ढकाल, झापा ३ बाट कृषक प्रकाश पाठक र झापा १ बाट ओमनाथ भण्डारीले उम्मेदवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ।

पार्टीका सभापति रवि लामिछाने कहाँबाट चुनाव उठ्ने भन्ने टुंगिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सकेसम्म धेरै क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार उठाउने तयारी गरेको छ।

निर्वाचन आयोगले असोज २३ मा उम्मेदवारको मनोनयन गर्ने बताएकोले त्यसअघि अधिकांश क्षेत्रका उम्मेदवार तय भइसक्ने उक्त पार्टीले जनाएको छ। 
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभामा चुनाव नलड्ने बताइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *