माओवादीबाट निर्वाचित जनप्रतिनिधि एमालेमा प्रवेश गरेसँगै धादिङमा सामाजिक सञ्जाल डल्लाकोटीमय

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २२

२१ चैत्र, धादिङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएका छन् ।
भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा अध्यक्ष ओलीले धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) लगायतलाई एमालेमा भित्र्याएका हुन् । गत स्थानीय निर्वाचनमा डल्लाकोटी माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
एमालेमा प्रवेश गरेसँगै धादिङमा सामाजिक सञ्जालमा डल्लाकोटीको चर्चा चलेको छ । एमाले सम्बद्ध व्यक्तिहरुले डल्लाकोटीलाई स्वागत गर्दै स्टाटस पोष्ट गरेका छन् भने माओवादी केन्द्रका कार्यकर्ताहरुले भने कडा आलोचना अभिव्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रको बाग्मती प्रदेश कमिटी सदस्यसमेत रहनुभएका डल्लाकोटीले धादिङमा माओवादी केन्द्र छाड्ने लहर सुरु भएको र गाउँगाउँबाट हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्ने क्रम सुरु भएको बताए ।
अध्यक्ष डल्लाकोटीले गठबन्धन संस्कृति लोकतन्त्रका लागि घातक भएकाले त्यसको विरोध गर्दै पुरानो घर एमालेमा फर्किएको बताउनुभयो । पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले जनताका लागि काम गर्न डल्लाकोटीलाई आग्रह गर्नुभएको थियो ।
डल्लाकोटी कुनै बेला एमालेमै थिए। उनी १५ वर्षपछि माओवादी छाडेर पुरानै पार्टीमा फर्किएका हुन्।
धादिङमा माओवादी केन्द्रको तर्फबाट डल्लाकोटीले २०७४ को निर्वाचनमा एमालेकै उम्मेदवारलाई हराएका थिए। उनी त्यसबेला १२ सय भन्दा बढीले एमालेका गिरिराज कँडेललाई हराउँदै विजयी भएका थिए।
बालकोटमा अध्यक्ष ओलीद्वारा माओवादी केन्द्रका नेताहरुलाई पार्टीमा स्वागत गर्दै एमाले नेता एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। पुष्पराज कँडेल, सांसद एवम् एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, देवप्रसाद त्रिपाठीलगायत बेनिघाट रोराङका स्थानीय नेता र कार्यकर्ताको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *