काठमाडौं । बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ ।
अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो ।
आउँदो सोमवारदेखि लागू हुने गरी बेलायतले नेपाललाई रातो सूचीबाट हटाएको हो । रातो सूचीबाट हटेसँगै कोभिड(१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएकाहरू बेलायत जाँदा अनिवार्य होटल क्वरेण्टीनमा बस्नु पर्ने छैन ।
रातो सूचीमा हुँदा बेलायतले तोकिदिएको होटलमा १० दिन क्वरेण्टीनमा बस्नै पर्ने बाध्यता थियो । अब होम क्वरेण्टीनमा बस्दा हुनेछ । कोरोना महामारीका कारण बेलायतले नेपालसहित विश्वका धेरै देशलाई रातो सूचीमा राखेको थियो । बेलायतले अझै पनि पानामा, पेरु, कोलम्बिया, भेनेजुएला, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकलाई भने रातो सूचीमा नै राखेको छ ।
यस्तै, बेलायतले अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, मोडेर्ना र जोनसोन एण्ड जोनसोनको खोप लगाएकालाई आफ्नो देश प्रवेशमा अनुमति दिएको छ । नेपालबाट बेलायत जाँदा खोप लगाएको प्रमाण पेस गर्नुपर्ने छ।
लण्डनमा रहेको नेपाली दूतावासले बेलायतले नेपाललाई रातो सूचीबाट हटाएकोमा धन्यवाद दिएको छ ।
नेपाललाई रातो सूचीबाट हटाउन दूतावासले बेलायत सरकारसँग आग्रह गर्दै आएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्