उड्यन प्राधिकरणको निमित्त महानिर्देशकमा क्षेत्री

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ६

काठमाडौं- मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन्।

क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ।

निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारीरूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराकिलो बनाउन दत्तचित्त भएर लाग्ने बताए। उनले मुलुकको उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो र विश्वसनीय तुल्याउन नीतिगत सुधारदेखि संस्थागत संरचनालाई सुदृढ पार्ने गरी काम गर्ने बताए।

अनिवार्य अवकाश पाउने तयारीमा रहेका पोखरेलले मङ्गलबार साँझ पदबाट राजीनामा दिएका थिए। राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ। उनले क्यानको प्रवक्ता तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक पदमा रहेर काम गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *