×

अब वृद्ध भत्ता राेकिने छैन खत्वे दम्पतीकाे

अशोज ४, २०७८ | दाक्सु मिडिया

सप्तरी – सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले  शारीरिक रूपमा अशक्त वृद्ध दम्पतीलाई घरमै पुगेर नेपाली नागरिकताकाे प्रमाणपत्र दिएका छन् ।

गाैतमले सप्तरीको रूपनी गाउँपालिका-५ बसविट्टीकी ७० वर्षीया दसनिदेवी खत्वे र उनका श्रीमान् ७४ वर्षीय मुसहरू खत्वेलाई  घरमा पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिएका हुन्।

दम र पक्षघातबाट पीडित दसनि हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेको जानकारी प्राप्त भएपछि आफूले घरमै पुगेर नागरिकताको प्रतिलिपि प्रदान गरेको प्रजिअ गौतमले बताए ।

प्रमुख जिल्ला अधिकारीले घरमै आएर नागरिकता प्रदान गरेकाेमा वृद्ध दम्पतीले खुशी व्यक्त गरे । दसनिले भनिन्, ´हामी हिँड्डुल गर्ने कुरा बुहारीले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएपछि सिडियो साव आफै दिन आउनु भएकोमा खुसी लागेको छ ।’ दसनि २० वर्षदेखि पक्षघात भई हिँड्डुल गर्न नसक्ने भएकाले राजविराज पुगेर प्रतिलिपि लिन नसक्ने भएपछि बुहारी तारादेवीले जिल्ला प्रशासन कार्यालयमा  पुगेर उक्त कुरा जानकारी गराएकी थिइन् ।

तारादेवीको श्रीमान उत्तिमको १० वर्ष अघि मलेसियामा मृत्यु भएपछि उनी सासुससुरालाई स्याहार गरेर बसेकी छिन् । उनीहरूले २०३९ मा नागरिकता लिएका थिए ।

तत्कालीन जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरवाहीले दुवैजनाको नागरिकता नम्बर एउटै भएकाले राष्ट्रिय वाणिज्य बैंकले कारोबार गर्न असमर्थता जनाएपछि उनीहरूकाे सामाजिक सुरक्षा भत्ता राेकिएकाे थियाे । सामाजिक सुरक्षा भत्ताले नै गुजारा चलाइरहेका उनीहरूलाई निकै समस्या परेकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: