सोलुखुम्बु । खुम्बु पासाङल्हमु गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूलाई आफ्ना परिचय पत्र नवीकरण गर्न आग्रह गरेको छ ।
गाउँपालिकाको कार्यालयबाट आर्थिक वर्ष २०८२/८३ का लागि सामाजिक सुरक्षा परिचय पत्र अनिवार्य रूपमा नवीकरण गर्न अनुरोध गरिएको हो ।
गाउँपालिकाको अनुसार, जेष्ठ नागरिक, एकल महिला, दलित ,विधुवा, अपांगता भएका व्यक्ति, पूर्ण अपांग, बाल पोषण भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूलाई नवीकरण प्रक्रिया आवश्यक छ। सामाजिक सुरक्षा नियमावली, २०७७ तथा सामाजिक सुरक्षा वितरण कार्यविधि, २०७७ अनुसार प्रत्येक आर्थिक वर्षमा विवरण नवीकरण गर्नु अनिवार्य व्यवस्था गरिएको छ।
गाउँपालिकाले सुचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ मा भत्ता लिन चाहने लाभग्राहीहरूले गाउँपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा साउन १ गतेदेखि भदौ ३० गतेभित्र नविकरण प्रक्रिया पूरा गर्नुपर्नेछ। निर्धारित म्यादभित्र नविकरण नगरिएमा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या आउन सक्ने भएकाले समयमै नविकरण गर्ने अनुरोध गरेको छ ।
नविकरणका लागि आवश्यक पर्ने कागजातहरूमा सामाजिक सुरक्षा भत्ता प्रमाण पत्र, टोल विकास समितिको सिफारिस, नागरिकता प्रमाणपत्र, परिचयपत्र नम्बर वा आवेदन फारम अनिवार्य रूपमा प्रस्तुत गर्नु पर्नेछ। साथै, बालबालिकाको हकमा जन्म प्रमाणपत्र, बाबु वा आमाको नागरिकता, अपांगता प्रमाणपत्र, मृत्यु दर्ता प्रमाण, कानुनी अभिभावकता प्रमाण, शिक्षा संस्थाबाट सिफारिसजस्ता कागजात आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्