
जनकपुरधाम । नेकपा एमाले विभाजन भइ गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रदेश २ का थप दुई सांसदले सनाखत गरेका छन् ।
आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।
उनीहरु गत शुक्रबार नेकपा एमालेको वीरगंजमा आयोजित प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए ।
तर आइतबार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले भने, ‘यता सनाखत नगरुञ्जेल हामी एमालेमै थियौं, त्यसैले पार्टीको बैठकमा सामेल भएका हौं तर अब सनाखत गरिसकेपछि हामी नेकपा एकीकृत समाजवादीका सांसद भयौं, अब एमालेसँग हाम्रो कुनै सम्बन्ध रहेन ।’
मौसम खराब भएको कारण देखाउँदै मंगलबार एकीकृत समाजवादीमा सनाखत गर्न नआएका उनीहरू दुबै जना वीरगञ्जस्थित एमालेले आयोजना गरेको प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए।
यसअघि एमालेमा रहँदासमेत पटक(पटक दुबैजना सांसदले कित्ता परिवर्तन गर्दै आएका थिए। एमालेबाट निर्वाचित २१ जना प्रदेश सभा सदस्यमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् भने ८ जना एमालेमै रहने भएका छन्।
शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव सुन्दर विश्वकर्मा, सीता गुरुङ एकीकृत समाजवादी रोजेका हुन्।
क्यान्सर उपचारका क्रममा दिल्लीमा रहेका डिल्ली उप्रेतीको पनि आइतबार साँझसम्म सनाखत भइसक्ने जनाइएको छ । दिल्लीस्थित नेपाली दूतावासको रोहवरमा उप्रेतीको सनाखत गरेर निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भइरहेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया