×

नेकपा ‘एस’ बन्यो सुदूरपश्चिममा सबैभन्दा ठूलो दल

भदौ २०, २०७८ | दाक्सु मिडिया

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नयाँ गठन भएको नेकपा एकीकृत समाजवादी पार्टी (एस) सबैभन्दा ठूलो दल बनेको छ ।

आइतवार एमालेका थप तीन सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै नेकपा एस सबैभन्दा ठूलो दल बनेको हो ।

आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेर सनाखत गराएका हुन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समयसीमा तोकेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेशसभामा रहेका एमालेका १० सांसदले यसअघि नै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका थिए ।

यसअघि पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउन, चुनकुमारी चौधरी, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सामेल भइसकेका थिए । आइतबार थप तीन जना सामेल भएसँगै नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा १३ सांसद भएका छन् भने अब एमालेमा १२ सांसदमात्र छन् । दल विभाजनपछि एमालेको तुलनामा नवगठित दल प्रदेशसभामा ठूलो देखिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: