
काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म १ सय १६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५३ जना पुरुष, ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेका प्रहरीले जनाएको छ । बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १ सय ३६ जना घाइते भएका छन् ।
तीमध्ये ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको पनि प्रहरीले जनाएको छ ।
बाढीपहिरोमा परी ३१ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ५ जना बालक र १ जना बालिका रहेको र उनीहरुको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।
बाढीपहिरोमा परेका १ हजार २ सय ८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरी उनीहरूलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।
बाढीको कारण ३ हजार १ सय ८२ वटा घर डुबानमा परेका छन् । ९ सय ७८ वटा घर, १ सय ६४ वटा गोठ, ६६ वटा पुल, ८ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ३ सय ३ वटा पशु चौपायको मृत्यु भएको छ ।
उक्त अवधिमा भएका जम्मा १ हजार ३ सय ४५ वटा विपद्का घटनाबाट १ हजार २ सय ६९ वटा घर परिवारका ६ हजार १ सय ११ जना मानिस विस्थापित भएका छन् ।
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा भइरहेको पनि प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया