
खोटाङ । खोटाङमा सडक विस्तारका लागि २२ वर्षअघि खरीद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको छ ।
उदयपुरको कटारी–घुर्मी–ओखलढुंगा सडक खण्डको हिलेपानीबाट दिक्तेल जोड्ने सडक निर्माणका लागि तत्कालीन ७६ गाविसको लगानीमा २०५५ सालमा खरीद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको हो । खोटाङ जोड्ने मुल ढोका खोल्नका लागि खरीद गरिएको डोजर हाल खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाट (ओखलढुंगातर्फ)मा अलपत्र अवस्थामा छ । खोटाङको साझा सम्पत्तिका रुपमा रहेको डोजर हाल मध्यपहाडी लोकमार्गभन्दा मुनि दुधकोसी किनारमा मिल्किएको छ ।
खियाले खाइसकेको डोजर फर्सीको लहराले ढाकिएको अवस्थामा देख्न सकिन्छ । नदीको पानीको सतहभन्दा केही मिटरमाथि अड्किएको डोजरलाई कुनै दिन ठूलो बाढीले बगाउने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । लामो समयसम्म मध्यपहाडी लोकमार्गको कुनामा मिल्किएको डोजर सडकको डिलमुनि पुर्याइएको हो । डोजरको कुनै पनि पाटपूर्जा काम लाग्ने अवस्थामा छैन ।
कटारीबाट ओखलढुंगादेखि सोलुखुम्बु जोड्नेगरी सडक निर्माण सुरु गरिएपछि खोटाङका तत्कालीन सांसद टंक राईले हिलेपानीबाट दिक्तेल जोड्नेगरी हिले-हलेसी सडक निर्माण गर्ने परिकल्पना अघि सारेपछि तत्कालीन जिविसमार्फत डोजर खरीद गरिएको थियो । तत्कालीन सांसद राईको योजना सफल बनाउन तत्कालीन जिल्ला विकास समिति सभापति पर्शुराम कार्की, हरि रोकालगायत लागि परेको तत्कालीन जिविस सदस्यहरु बताउँछन् । प्रतिगाविस एक लाखका दरले संकलन गरिएको रकममध्ये ४२ लाखमा डोजर खरीद गरिएको थियो । अन्य रकमबाट एउटा ट्याक्टर खरीद गरिए पनि हाल ट्याक्टरको अत्तोपत्तो छैन । कतिपय गाविसले भने डोजर र ट्याक्टर खरीदका लागि तोकेको रकम विनियोजन गर्न अस्विकार गरेको थियो ।
खोटाङको साझा सम्पत्तिका रुपमा रहेको डोजर प्रयोग गरेर ओखलढुंगाको हिलेपानीबाट जयरामसम्म करिब ९ किलोमिटर सडक खनिएको थियो । सडक खन्दै जयराममा दुधकोसी किनारमा आइपुगेको डोजर नदी नतार्दै कवाडीमा परिणत हुन पुगेको हो । २०५७ सालताका पहिला अप्पर माथिल्लो सगरमाथा कृषि विकास आयोजना र त्यसपछि ग्रामीण पहुँच कार्यक्रम (र्याप)सँग जयराम (दुधकोसी किनार)बाट हलेसीसम्मको सडक निर्माणमा हेभी मेसिन प्रयोग नगर्ने सम्झौता भएपछि सो डोजर खोटाङ नतार्दै थन्किएको थियो । सडकमै थन्किएको डोजरको संरक्षणमा ध्यान दिइएन । उपयोगमा नआउने भएपछि दुधकोसी नतार्दै लामो समयसम्म राखिएपछि डोजर कवाडीमा परिणत भएको हो । कवाडीमा परिणत भए पनि खोटाङको सामूहिक भावना बोकेको तथा साझा सम्पत्तिको प्रतिकका रुपमा रहेको कवाडी डोजर संरक्षणको चर्चा हुने गरेको छ ।
डोजर संरक्षणमा नगरपालिकाको चासो
यसैबीच, जिल्ला समन्वय समितिको ९ असार २०७६ को बैठकले सडकको ढोका खोल्ने लक्ष्यका साथ खरीद गरिएको डोजर संरक्षणका लागि स्थानीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । इतिहास बोकेको डोजर संरक्षणका लागि माग आएमा हस्तान्तरण गर्ने निर्णय गरेपछि सोही वर्षको २६ असारमा हलेसी तुवाचुङ नगरपालिकाले डोजर संरक्षण गर्ने भन्दै जिल्ला समन्वय समितिलाई पत्राचार गरेको थियो । सोही आधारमा जिल्ला समन्वय समितिले संग्रहालय बनाएर डोजरको संरक्षण गर्नका लागि २७ असारमा नगरपालिकालाई डोजर हस्तान्तरण गरेको थियो ।
यद्यपि, कवाडीका रुपमा थन्किएको डोजरलाई संग्रहालय बनाएर राख्ने सोच बनाइए पनि हालसम्म उपयुक्त विकल्पको टुंगो नलागेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
जिसस प्रमुख चाम्लिङले भने ऐतिहासिक धरोहरको रुपमा रहेको डोजर संरक्षण हुने विश्वास गरेका छन् । ‘संग्रहालय निर्माण गरेर डोजर संरक्षणका लागि नगरपालिकालाई जिम्मेवारी दिइएको छ,’ चाम्लिङले भने, ‘हामीलाई विश्वास छ, ऐतिहासिक धरोहरको संरक्षण हुने छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया