
२९ वैशाख, काठमाडौं । केही समय अघि भारतको विभिन्न स्थानमा गंगानदीले बगाएका बेवारिसे शव भेटिन थालेको छ । यस्ता शवहरु भारतको उत्तरप्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेको हो । यी शवहरुको सनाखत अझै हुन सकेको छैन।
आम रूपमा गंगामा मृत चौपायाहरु भेटिनु सामान्य भए तापनि कोरोना महामारीको बीचमा यति धेरै बेवारिसे शव भेटिनु एउटा चिन्ताको विषय बनेको छ। पछिल्लो पटक गंगा नदी किनारमा बेवारिसे ७१ शव भेटिएका छन् ।
यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए । पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शवहरु बक्सर जिल्ला प्रशासनले पोष्टमार्टमपछि खाल्डोमा गाडेको छ । तिनको डिएनएको नमूना भने सुरक्षित राखिएको छ ।
ती शव कसका हुन् र कहाँबाट यति धेरै जम्मा भए भन्ने खुलेको छैन । स्थानीय अधिकारीहरुका अनुसार अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न सकिदैन। कतिपयले भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव जलाउने दाउराको मूल्य महँगो भएकाले निजलाई त्यत्तिकै फ्यालिदिएको हुनसक्ने अनुमानसमेत गरेका छन् ।
बक्सर जिल्लाका एसपी निरज कुमार सिंहका अनुसार शवहरु सडेका थिए । शवको अवस्था अत्यन्त खराब भएकाले घाटमै पोष्टमार्टम गरिएको थियो ।
मोदी सरकारका जल शक्ति मन्त्री गजेन्द्र सिंह शेखावतले गंगा नदीमा शव फ्याक्नुलाई दुर्भाग्यपूर्ण भनेका छन् । गंगा नदीको निर्मलता र अविरलताका लागि मोदी सरकार प्रतिबद्ध रहेको बताउँदै उनले राज्य सरकारलाई यस घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न पनि भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया