काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर सूचना टाँस्न थालेको छ ।
आज काठमाडौं महानगरपालिकाले न्युरोडस्थित केशा प्लाजालाई सम्पत्ति कर नतिरेको भन्दै प्लाजा परिसरमा पञ्चेबाजा बजाउँदै सूचना टाँस गरेको छ ।
गत असार १६ र साउन २४ गते सूचना प्रकाशित गरी ३० दिनभित्र कर तिर्नका लागि भनिएकोमा अटेर गरेकाले प्लाजालाई सचेत गराइएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले सात दिनभित्र कर नबुझाएमा कानूनअनुसार प्लाजाका सम्पूर्ण पसल तथा व्यावसायिक गतिविधि बन्द गराउने समेत चेतावनी दिएको छ ।
महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो ।
तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय तथा घर–आँगन परिसरमा बुधबारदेखि पञ्चेबाजा बजाउने महानगरपालिकाले निर्णय गरेको थियो ।
महानगरपालिको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार ती करदाताबाट करीब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्