×

काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक

साउन १३, २०८१ | दाक्सु मिडिया

काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची म्याचिङ्लिस्टमा परेका दुई हजार ८५९ जना विद्यार्थीका नाम शनिवार साउन १२ गते प्रकाशन भएको छ ।

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार आज सूची प्रकाशन गरेको हो । यसको विवरण इमेलबाट विद्यालयहरूलाई पठाइसकिएको छ । यस्तै विद्यार्थीहरूलाई एसएमएस पठाइएको छ । विद्यार्थीहरूले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो सिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन् ।

प्रकाशन भएको सूची, साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरूमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रूपमा छुट्ट्याइएको सिट सङ्ख्याका आधारमा सूची प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिएका छन् ।

छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते बिहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो ।

प्रणालीबाट ११ हजार ८७१ जना विद्यार्थी आवेदन दिएका थिए । जसमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । साउन ४ गते ३८ वटा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: