
काठमाडौं महानगरपालिकाले चाबहिलस्थित गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न ७ दिनको समय दिएको छ ।महानगरले बुधबार नगर प्रहरीसहितको टोली पठाएर ७ दिनभित्र आर्थिक वर्ष २०७८र७९ देखि तिर्न बाँकी मनोरञ्जन कर, व्यवसाय कर, सम्पत्ति कर र अन्य कर तिर्न समय दिएको हो ।
‘दुई आर्थिक वर्षभन्दा धेरै समयको कर उहाँहरूले तिर्नुभएको छैन । यसबीच कति मान्छेले चलचित्र हेरे, कतिवटा शो भए त्यो पनि तथ्यांक छैन,’ महानगरका राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले भने, ‘उहाँसँग माग्दा दिनुभएको छैन, ७ दिनभित्र सबै बुझाउन भनेका छौं ।’
काफ्लेका अनुसार हल सञ्चालकले अटेर गरे महानगरको आर्थिक ऐनअनुसार कारबाही गरिने छ । ‘उहाँहरूले ७ दिनभित्रै कानुनी प्रक्रिया पूरा गर्न आउँछु भन्नुभएको छ । त्यसपछि कति तिर्ने भन्ने निर्क्योल हुन्छ,’ काफ्लेले भने ।
महानगरले बारम्बार सूचित गर्दा पनि हलले अटेर गर्दै आएको थियो । नगर प्रहरी निरीक्षक ईश्वरीप्रसाद वाग्लेसहित दुई गाडी नगर प्रहरी गोपीकृष्ण हलमै पुगेपछि हल व्यवस्थापनले प्रतिक्रिया जनाएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया