काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।
श्रीमतीको नाममा सेयर किनेर चलखेल गरेपछि विवादमा मुछिएका साउदले मंगलवार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासहित सीईओ साउद सेयर खरिद प्रकरणमा मुछिएका छन् । यसको चर्को विरोध भएपछि अर्थ मन्त्रालयले ढुङ्गानासहित साउदलाई स्पष्टीकरण सोधिसकेको छ । यद्यपि, हालसम्म मन्त्रालयले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ पाइसकेको छैन ।
मन्त्रालयलाई चित्त बुझ्दो जवाफ नदिए पनि साउदले आफ्नो गल्ती सुधार गर्दै राजीनामा दिएका हुन् । खासगरी, साउद ‘बुक बिल्डिङ’मा साधारण सेयर (आईपीओ) सार्वजनिक गर्ने निर्णय गरेपछि सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् ।
तर उनले आफूले गैरकानूनी काम नगरेको भन्दै अनुसन्धानमा सहयोग होस् भनेर राजीनामा दिएको बताएका छन् ।
आफ्नो कार्यकाल सकिन दुई महिना मात्रै बाँकी रहँदा उनले राजीनामा बुझाएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया