माधव नेपालको पार्टी अब नेकपा ‘एकीकृत समाजवादी’

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ४

काठमाडौं । निर्वाचन आयोगले विद्यमान राजनीतिक दलको नामसँग मिल्दोजुल्दो नाम राखी नयाँ दल दर्ता गर्न नपाउने भनेपछि नेता माधव कुमार नेपालले नेकपा एमाले समाजवादीबाट एमाले शब्द हटाएका छन् ।

अध्यक्ष नेपालले निर्वाचन आयोगमा पुगेर नाम सच्चाउने निवेदन दिदै नयाँ नाममा नेकपा एकीकृत समाजवादी राख्ने निधो गरेका छ्न ।

उक्त पार्टीका केन्द्रीय सदस्य निरा जैरुले आयोगमा नेकपा समाजवादी दर्ता गर्न निवेदन दिइसकेको बताइन् ।

‘एमाले हटाएर कागजपत्र बुझाएका छौं,’ उनले भनिन्, ‘आयोगले सोही अनुसार प्रमाणपत्र उपलब्ध गराउँछ होला।’ आयोगले एमाले नाम राख्दा मूलपार्टीसँग जुध्ने भन्दै फरक नाम ल्याउन सुझाव दिएको थियो। लगत्तै उनीहरुले एमाले हटाएर एकीकृत समाजवादीका लागि मात्र निवेदन दिएका थिए।

नेताहरुले आयोगका अधिकारीहरुलाई भेट्दा सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका थिए ।

नेता विजय पौडेलले नेकपा एमाले समाजवादी नभए नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राख्न मिल्छ त भनेर समेत सोधेका थिए । त्यसपछि सोही अनुसारको निवेदन दिइएको बताइएको छ ।

पार्टीको नाम फाइनल भएपनि चुनाव चिन्हको विषयमा भने अझै पनि अलमल रहेको छ । यसअघि खुला कितावलाई चिन्ह मानिएकोमा उक्त चिन्ह निर्वाचन आयोगमा पहिल्यै दर्ता भएको पाइएपछि विवाद भएको थियो ।

यसअघि जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृतको चुनाव चिन्ह कलममा नेता नेपालले नजर राखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *