×

प्रश्नपत्र ‘लिक’प्रकरणः सईसहित ३ बर्खास्त, २ एसपीसहित ११ जनालाई कारबाही सिफारिस

साउन २७, २०७८ | दाक्सु मिडिया

काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनको छनोट परीक्षाको प्रश्नप्रत्र १ सय १९ जना परीक्षार्थीसँग परीक्षा अगावै पुगेको पाइएको छ ।

छानविन समितिले बुधबार बिहान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बुझाएको ५५० पृष्ठ लामो प्रतिवेदनमा उक्त कुरा पुष्टि भएको हो ।

प्रश्नपत्र लिक गरिएको विषयमा अनुसन्धान गर्न यही साउन १९ गते प्रहरी नायब महानिरीक्षक वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

समितिले तीन जनालाई प्रहरी सेवाबाटै बर्खास्त गर्न सिफारिस गरेको छ। प्रहरी परिचर सुरेश बम, प्रहरी हवल्दार कुमार शाह र प्रहरी नायब निरीक्षक जनक थापालाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरिएको हो।

यस्तै समितिले एसपीसहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। यूएन शाखाका प्रमुख एसपी अनुपमशमशेर जबरा, परीक्षा सञ्चालन समितिका एसपी वेद विष्ट, प्रहरी निरीक्षक ईश्वरी भण्डारीलाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ।

परीक्षा सञ्चालनको जिम्मेवारी तोकिएका उनीहरूले प्रश्नपत्रको सुरक्षा गर्न नसकेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै परीक्षामा सहभागी ८ जनालाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ।

डीएसपी रुपेश खड्का, डीएसपी सुगन्ध श्रेष्ठ, प्रहरी निरीक्षक दिलीप क्षेत्री, प्रहरी नायब निरीक्षक केदार तिमिल्सना, प्रहरी नायब निरीक्षक सुनील भण्डारी, प्रहरी नायब निरीक्षक केशव कार्की, प्रहरी सहायक निरीक्षक अशोक कार्की, प्रहरी जवान सुनिता नेपाललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।

उनीहरूले आफूले प्रश्नपत्र पाएपछि अरूलाई पनि पठाएका थिए। उनीहरूले विभागीय जिम्मेवारीमा लापरबाही गरेकाले कारबाही सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

चारै सिफ्टका प्रश्नपत्र बाहिरिएको आशंकापछि तयार पारिएका दुईवटा प्रश्नपत्र पनि बाहिरिएको पाइएको हो।

यसअघि चार सिफ्टका प्रश्नपत्र बाहिरएको सूचनापछि अर्कै प्रश्नपत्र तयार गरेर दुई सिफ्टका परीक्षा सञ्चालन गरिएको थियो। तर ती प्रश्नपत्र पनि बाहिरिएको पाइएको हो।

काठमाडौं बाहिरका केन्द्रमा पनि प्रश्नपत्र बाहिरिएको पाइएपछि सबै परीक्षा रद्द गर्न सिफारिस गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: