काठमाडौं, साउन २३ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि भोलि (आइतबार) सार्वजनिक गरिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाको सांसद दुर्गा पौडेलले जानकारी दिए ।
कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी एवं जनमोर्चाका सांसद पौडेल सहभागी थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया