काठमाडौं । ५ दलीय सत्ता गठबन्धन स्थानीय तहलाई प्रदेश मातहत ल्याउने प्रस्तावबाट ब्याक भएको छ ।
संयुक्त सरकार संचालनका लागि बनाइएको न्यूनतम साझा कार्यक्रममा ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने’ प्रस्ताव गरिएको थियो । तर उक्त प्रस्तावको स्थानीय सरकारहरुले नै तिव्र विरोध गरेको कारण गठबन्धन ब्याक भएको हो ।
शनिबार राजधानीमा कार्यक्रम गरेर सरोकारवाला संस्थाहरू गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले यसमा आपत्ति जनाउँदै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेससमेत त्यसको विरोधमा उभिएपछि अहिले न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले बाहिरिएको प्रस्तावको स्वामित्व नै लिनबाट पछि हटेका छन् ।
विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो । यस्तै सत्ता गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् । सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो । त्यसलाई आज अन्तिम रुप दिइएको हो ।
दिउँसो चार बजे उक्त कार्यक्रम सार्वजनिक गरिने भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया