प्रदेश १ मा २१ सय क्षमताको कोभिड डेडिकेटेड अस्पतालको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३०

कोरोना संक्रमणको प्रकोप बढेसँगै प्रदेश १ सरकारले कोभिड डेडिकेटेड अस्पतालको तयारी गरेको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराट मेडिकल कलेज शिक्षण अस्पताल, बूढीगंगा, नोबल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, बी एण्ड सी अस्पताल, बिर्तामोडमा कम्तीमा ५००–५०० शय्या क्षमताको तथा न्यूरो, कार्डियो तथा मल्टि स्पेसियालिटी अस्पताललाई १०० शय्या क्षमताको कोभिड डेडिकेटेड अस्पताल बनाउने निर्णय मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको सरोकारवालाको बैठकले गरेको हो।

डेडिकेटेड अस्पतालका लागि आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि पीसीसीएमसीबाट नेपाल सरकार सीसीएमसी समक्ष प्रस्ताव गरी पठाउने निर्णय भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए। उनका अनुसार निजी अस्पतालहरूलाई कोभिड उपचारमा दिइँदै आएको अनुदान रकम सम्बन्धमा अझ स्पष्ट बनाई थप अनुदान रकम उपलब्ध गराई गुणस्तरीय सेवा प्रवाह गर्ने वातावरणका लागि संघीय सरकारसमक्ष लेखी पठाउने निर्णय भएको छ। 

प्रदेश १ मा ९ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ। दैनिक संक्रमितको संख्या बढेसँगै प्रदेश सरकारले अस्पतालहरूमा बेड क्षमता बढाउने तयारी गरेको हो। प्रदेश १ मा अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर, विराट मेडिकल कलेज बुढीगंगा, न्युरो अस्पताल विराटनगर, नोबेल मेडिकल कलेज विराटनगर, मेची अस्पताल झापा, बी एण्ड सी अस्पताल झापा, धनकुटा अस्पताल र संखुवासभा अस्पतालमा संक्रमितको उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *