कैलाली — प्रहरी प्रधान कार्यालयले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या र धनगढी उपमहानगरपालिका–१० जुगेडा हत्या प्रकरणको अनुसन्धानमा संलग्न रहेका दुई जना प्रहरीलाई बढुवा गरेको छ भने पाँच जना प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ।
दुवै घटनामा सफल अनुसन्धान गर्ने कनिष्ठ प्रहरी अधिकृतलाई एक तह बढुवा गरेको हो। बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न रहेका असई पदमबहादुर थापालाई सईमा बढुवा गरेको हो। बढुवा भएका थापा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दी भएका अधिकारी हुन्।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक र अछाम घर भएका प्रहरी जवान रामबहादुर साउँदलाई तस्करहरुको समूहले हत्या घटना र कञ्चनपुर पुनर्वास नगरपालिका–१ बस्ने ७१ बर्षीय खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न अहम भुमीका निर्वाह गरेका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दारमा बढुवा भएका छन्।उनको दरबन्दी इलाका प्रहरी कार्यालय राजापुर बर्दिया रहेको छ।महानिरीक्षक शैलेश थापा क्षेत्रीलेप्रहरी नियमावली २०७१, (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम एकतह बढुवा गरेका हुन्।
भागरथी हत्यापछि बलात्कार घटनाको सफल अनुसन्धानमा महत्वपूर्ण भुमिका निभाएका पाँच प्रहरी अधिकारीलाई नगदसहित पुरस्कार प्रदान गरिएको छ। नगद पुरस्कारबाट पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दीका प्रहरी नायव उपरीक्षक पञ्च कुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दी भएका प्रहरी नायव निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दी रहेका प्रहरी जवान अशोक बहादुर कुँवर छन्।
बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरि महत्वपुर्ण भुमीका खेलेको थियो। उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरुको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उनीहरुले कार्य सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया