विराटनगर – मोरङमा पिसाब गर्न घरबाट निस्कएकी बालिका सामूहिक बलात्कारमा परेकी छन् । मोरङको जहदा गाँउपालिका–१ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
पिसाब गर्न निस्किएकी बालिका नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको खुलेको थियो । गाउँमा हल्ला भएपछि गाउँलेहरू राति ११ बजे बालिकाको खोजीमा निस्किएका थिए र १ बजे प्रहरीले जानकारी पाएको थियो ।
करिब तीन घण्टापछि सम्पर्कमा आएकी बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् । मोटरसाइकलमा लिएर गएकाहरूले बालिकालाई घर छेउमा ल्याएर छाडेका थिए ।
घटनामा प्रयोग भएको को२२प १८१६ नम्बरको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।
‘बालिकालाई लगेपछि गाउँलेहरु खोजी गर्न निस्किएछन् । गाउँले निस्कदा हल्ला भयो’ थापाले भने ‘हल्ला भएपछि आरोपीहरु मोटरसाइकल छाडेर भारत भागे ।’ घटनामा संलग्नहरूको पहिचान भइसकेको बताउँदै उनले खोजी कार्य सुरु गरेको बताए ।
बालिकाको तर्फबाट इलाका प्रहरी कार्यालय रानीमा मंगलबार जाहेरी दर्ता भएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि माइती नेपालको सेफहाउसमा राखिएको प्रहरी निरीक्षक थापाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया