ग्यास उद्योगीमाथि मन्त्रीको अभिव्यक्तिप्रति एलपी ग्यास उद्योग सङघको आपत्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २५

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङघ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र अमर्यादित भएको भन्दै सङघले ध्यानाकर्षण गराएको हो।

सङ्घले पाँच दशकभन्दा बढी समयदेखि एलपी ग्यासको कारोबार गर्दै आएका उद्योगहरूले विभिन्न विपद्का समयमा समेत स्रोतसाधन परिचालन गरी सेवा दिँदै आएको जनाएको छ। अहिले पनि प्राकृतिक विपत्तिका कारण उत्पन्न कठिन परिस्थितिमा ग्यासको आपूर्ति सहज बनाउन उद्योगहरू खटिरहेको अवस्थामा मन्त्रीबाट गैरलोकतान्त्रिक र अशोभनीय अभिव्यक्ति आउनु दुःखद भएको सङ्घको भनाइ छ।

सङ्घका अनुसार ७.१ केजीको आधा सिलिन्डर ग्यास १५ दिनका लागि मात्र लागू गर्ने भनिए पनि चार महिनासम्म निरन्तरता दिइएको थियो। पूर्ण सिलिन्डरमा फर्काउन २०८२ चैत १६ गते नेपाल आयल निगमलाई पत्राचार गरिए पनि त्यसतर्फ ध्यान नदिइएको सङ्घले जनाएको छ।

ग्यास अभाव हुनुमा ग्यास आयातमा ढिलाइ, पूर्ण सिलिन्डर लागू भएपछि मागमा भएको अचानक वृद्धि तथा पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ग्यास बुलेटको ढुवानी प्रभावित हुनुजस्ता कारण जिम्मेवार रहेको सङघले स्पष्ट पारेको छ।

कुनै उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भए कानुनी कारबाही गर्न आफूहरू तयार रहेको भन्दै सङ्घले बिनाप्रमाण उद्योगीलाई दोषी देखाउने र भौतिक कारबाहीको संकेत दिने अभिव्यक्ति आपत्तिजनक भएको जनाएको छ।

सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कठिन परिस्थितिमा सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारका व्यावहारिक निर्देशन पालना गर्दै सहकार्य गर्न सङघ प्रतिबद्ध रहेको उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *