काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले बिहीबार बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ४७६ पुरुष, १२६ महिला, ४४ बालिका र ३४ बालक छन् । त्यस्तै ४२८ वटा आंशिक अंग फेला परेको छ भने ८२ शवको पहिचान खुल्न बाँकी रहेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ७ हजार ८९२ जना सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै बाटो खुलाउने र शव व्यवस्थापनको कामसमेत गरिरहेका छन् ।
७८७ शवको व्यवस्थापन
प्रहरीका अनुसार हालसम्म फेला परेका शवमध्ये ७८७ शवको व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलन गर्ने काम पनि भइरहेको छ ।
अहिलेसम्म १ हजार ८३ जना मृतकको डीएनए नमुना संकलन गरिएको छ भने सम्भावित आफन्ततर्फबाट ५९१ जनाको नमुना लिइएको प्रहरीले जनाएको छ ।
बाढीबाट भएको मानवीय क्षतिको यकिन विवरण संकलन तथा बेपत्ताको खोजी कार्य अझै जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्