भोटेकोसीमा फेरि बाढी आउन सक्ने चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
भदौ १३, २०८३

काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा बाढीको सम्भावित जोखिम अझै टरेको छैन। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदीको माथिल्लो भागमा बनेको ताल फुट्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

हाल भोटेकोसी र त्रिशूली नदीको जलसतह सामान्य अवस्थामा रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल विस्तार हुँदै गएको प्रारम्भिक विश्लेषणबाट देखिएको महाशाखाले जनाएको छ।

बाढीविद् विनोद पराजुलीका अनुसार चीन सरकारबाट प्राप्त सूचना र भू–उपग्रह तस्बिरको अध्ययन गर्दा भदौ १० गते बाढी आएको क्षेत्रमा पानी जमेर बनेको तालको आकार बढिरहेको पाइएको हो। उक्त ताल अचानक फुटेमा पानीसँगै ढुंगा, माटो तथा गेग्य्रान बगेर तल्लो क्षेत्रमा पुनः आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको उनले बताए।

महाशाखाका अनुसार अहिले दुवै नदीको बहाव सतर्कता तहभन्दा तल छ। यद्यपि जोखिमलाई ध्यानमा राख्दै भोटेकोसीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार र अन्य जोखिमयुक्त स्थानमा नजान तथा सुरक्षित क्षेत्रमा रहन आग्रह गरिएको छ।

बाढीको खतरा बढेको अवस्थामा तत्काल पूर्वसूचना जारी गरिने महाशाखाले जनाएको छ। रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *