ध्वनि प्रदूषण गर्ने मोडिफाइड बाइकविरुद्ध कास्की प्रहरीको अभियान तीव्र

DaksuMedia दाक्सु मिडिया
|
साउन ११, २०८३

पोखरा — मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने तथा ध्वनि प्रदूषण गर्ने सवारीसाधनमाथि कास्की प्रहरीले निगरानी बढाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत पछिल्लो समय पोखराका विभिन्न स्थानबाट १४ वटा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार साइलेन्सर परिवर्तन गर्ने, ठूलो आवाज निकाल्ने, रातको समयमा होहल्ला गर्ने र शान्ति सुरक्षामा असर पुर्‍याउने गतिविधि गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको हो।यसअघि पनि प्रहरीले साउन ६ र ७ गते गरी ५१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो। अभियान सुरु भएयता हालसम्म ७९८ वटा सवारीसाधन र ३६ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

अनुमति नलिई साइलेन्सर, नम्बर प्लेट, रङ, सिट, ह्याण्डल, इञ्जिन वा अन्य पार्टपुर्जा परिवर्तन गरी सवारी चलाएमा कानुनअनुसार कारबाही र जरिवाना हुने व्यवस्था छ।

प्रहरीले ध्वनि प्रदूषण गर्ने, स्वरूप परिवर्तन गरिएका वा समाजमा त्रास सिर्जना गर्ने मोटरसाइकलबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *