काठमाडौँ । वर्षा सिजन सुरु नहुँदै बीपी राजमार्गको यात्रा चुनौतीपूर्ण बनेको छ । वैशाख यता यो राजमार्ग चाररपाँच पटक अवरुद्ध भइसकेको छ ।
खासगरी भकुन्डेदेखि नेपालथोकसम्म रोशी खोला हुँदै डाइभर्सन गरी यातायात सञ्चालन हुँदै आएको छ । केही घण्टाको वर्षामै रोशी खोलामा भेलबाढी आउने भएका कारण यो खण्डको यात्रा जोखिमपूर्ण हुने गरेको छ ।
वैशाख २२ गते खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइयो । यस्तै २१ गते नमोबुद्ध नगरपालिका वडा नम्बर ६ चौकी डाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसय बेंसीमा बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध बनेको छ ।
यसअघि वैशाख १५ गते राति रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको थियो । चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो । अहिले दैनिक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
बाढीले सडक अवरुद्ध पार्ने शृङ्खला नरोकिएपछि आगामी मनसुनमा राजमार्गको अवस्था कस्तो होला भन्ने संशय पैदा भएको छ । यसै सन्दर्भमा बुधबार सडक विभागमा विभागका महानिर्देशक, डिभिजन प्रमुखबिच छलफल भएको थियो ।
उक्त छलफलले सडकको सतह बढाएर र स्थायी सुरक्षा पर्खाल लगाएर वर्षामा पनि सडक निर्वाध चलाउने गरीे पुनर्निर्माणको कामलाई तीव्रता दिइने निष्कर्ष निकालेको छ ।
यस्तै, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले यस वर्षको वर्षा याममा पनि बीपी राजमार्ग सहजै सञ्चालन गर्ने गरी पुनर्निर्माण भइरहेको बताए ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्