पहिरो र लेदोले तीन जिल्लाका सडकमा यातायात ठप्प

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १५, २०८३

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, लेदो र पहिरोका कारण काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाले ढुङ्गामाटोसहितको लेदो बगाएर थुपारेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ।

त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ।

ललितपुरको सुन्दरीघाटस्थित बागमती खोला करिडोरमा जलसतह बढेपछि आवागमन रोकिएको छ। यस्तै, बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि सम्बन्धित क्षेत्रमा सवारी आवागमन प्रभावित बनेको छ। यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *