काठमाण्डौँ । सल्यानमा खाना पकाउने ग्यास अभाव भएको छ । पछिल्लो एक सातादेखि जिल्ला सदरमुकाम खलंगा, श्रीनगर लगायतका बजार क्षेत्रमा सहज रुपमा ग्यास पाउन छाडेको छ ।
बजारमा ग्यास आएको खबर फैलिनासाथ पसलमा भीड लाग्ने गरेको छ । तर सीमित आपूर्तिका कारण धेरैजसो उपभोक्ता रित्तै फर्किनुपर्ने अवस्था छ । कतिपयले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हो कि भन्ने आशंका समेत व्यक्त गर्न थालेका छन् ।
स्थानीय उपभोक्ता टिका बुढाथोकीले केही दिनयता ग्यासको खोजीमा बजार धाउँदा पनि सहज रूपमा नपाइने अवस्था बनेको बताइन् ।
ग्यासमा खाना पकाउने बानी परेकाहरुले ग्यास अभावले दैनिकी कष्टकर बनेको गुनासो गरेका छन् । अर्की उपभोक्ता दीपा थापाका अनुसार उनको टोलका अधिकांशलाई ग्यास अभावले मर्कामा पारेको छ ।
ग्यास बिक्रेताहरू भने आपूर्ति कम भएकाले समस्या देखिएको दाबी गर्छन् । बिक्रेता धर्मराज योगीले पहिलेको तुलनामा हाल कम्पनीबाटै थोरै ग्यास आउने गरेकाले मागअनुसार वितरण गर्न नसकिएको बताए ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्